साढे दुई अर्बको सिमेन्ट निर्यात

25 June 2026
साढे दुई अर्बको सिमेन्ट निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा करिव साढे दुई अर्ब रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको छ ।

साउनदेखि वैशाखसम्म दुई अर्ब ४२ करोड रुपैयाँ बराबरको सात लाख ७२ हजार मेट्रिक टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको हो । 

जसमा ६४ करोड ९२ लाख रुपैयाँ बराबरको चार लाख ८२ हजार टन क्लिंकर र एक अर्ब ७७ करोड रुपैयाँ बराबरको दुई लाख ९० हजार टन तयारी सिमेन्ट निर्यात भएको हो ।

गत वर्षको तुलनामा भने यस वर्ष सिमेन्ट निर्यात घटेको छ । गत वर्षको सोही अवधिमा तीन अर्ब ३३ करोड ५५ लाख रुपैयाँ बराबरको २५ लाख ६४ हजार ७३१ टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो ।

भारत सरकारले केही सिमेन्ट उद्योगको ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) नविकरण नगर्दा सिमेन्ट निर्यात रोकिएको थियो । बीआइएस प्रमाणपत्र नभई नेपाली सिमेन्ट भारत निर्यात गर्न पाइँदैन । 

पछिल्लो समय भने भारत सरकारले एक वर्षका लागि बीआइएस नविकरण गरिदिएको सिमेन्ट उद्योगीले जनाएका छन् ।